काठमाडौँ – भारतीय राष्ट्रिय काँग्रेस पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने भएका छन्।
यसअघि उत्तर प्रदेशको अमेठीबाट निर्वाचन लड्ने घोषणा गरिसकेका गान्धी केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि लोकसभाका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।
भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताए। गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा नयाँ बहस सृजना गरिदिएको छ।
काँग्रेसका नेताहरुले यसलाई आवश्यकताका रुपमा व्याख्या गरेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले गान्धी भागेको, डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको भन्ने गरेका छन्।
‘पार्टीका नेता तथा कार्यकर्ताहरुले विगत लामो समयदेखि अध्यक्ष राहुल गान्धी दुई ठाँउबाट निर्वाचन लड्नु पर्ने माग र चाहना व्यक्त गर्दै आएका थिए, उनीहरुले उहाँलाई भारतको दक्षिणी क्षेत्रबाट निर्वाचन लड्न आग्रह गर्दै आएका थिए,’ एन्टोनीले भने।
उनले अध्यक्ष गान्धीलाई विषेशगरेर कर्नाटक, केरला र तमिलनाडुमध्ये कुनै प्रदेशको निर्वाचन क्षेत्रबाट चुनाव लड्न दवाव आएको जानकारी दिए। धेरैतिरबाट निर्वाचन लड्नका लागि आग्रह गरेपनि अन्त्यमा गान्धी वायानाडबाट उम्मेद्वार बन्न मन्जुर भएको अन्टोनीले बताए।
यो निर्वाचन क्षेत्रका लागि कर्नाटकका पूर्व मुख्यमन्त्री तथा काँग्रेस नेता सिद्धरमैयाले यही मार्च १५ मा अध्यक्ष गान्धीलाई आग्रह गरेका थिए। यसअघि मार्च ७ मा काँग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो। (रासस)