काठमाडौँ - ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपाली राष्ट्रिय महिला टोली म्यानमार प्रस्थान गरेको छ। आइतबार अखिल नेपाल फुटबल संघले (एन्फा)ले कार्यक्रमको आयोजना गरी महिला टोलीकाे बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले म्यानमारमा राम्राे प्रदर्शन गर्ने कुरामा आफू विश्वस्त भएको बताए। साथै उनले छनाेट प्रतियाेगितामा महिला टोलीले इतिहास रच्नेमा आशावादी भएको धारणा राखे।
भारत र आयोजक म्यानमारसँग समान १-१ गोलको बराबरी खेल्दै नेपाल पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणको छनोट प्रतियोगिताको समूह बी मा नेपालसँगै आयोजक म्यानमारसहित भारत र इन्डोनेसिया रहेका छन्।
नेपालले अप्रिल ३ मा पहिलो खेलमा म्यानमारसँग खेल्दै प्रतियोगिताकाे शुरुआत गर्नेछ। त्यस्तै अप्रिल ६ मा भारतविरुद्ध दोस्रो र अप्रिल ९ मा इन्डोनेसियासँग तेस्रो खेल खेल्नेछ। समूह चरणाका खेलपछि समूहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ।
म्यानमार प्रवेश गरेको नेपाली महिला टिममा निम्न खेलाडी समावेश छन्:
गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर र उषा नाथ।
डिफेन्डर : हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पूजा राना र मनमाया लिम्बु।
मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी।
स्ट्राइकर : रेखा पौडेल, निरु थापा (कप्तान) र सावित्रा भण्डारी।