एजेन्सी - सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छन्। शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उनी स्लोभाकियाकी पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी छन्।
वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गरेकी छन्। त्यस्तै उनका प्रतिस्पर्धी युरोपेली यूनियनका ऊर्जा आयुक्त मारोस सेफ्कोभिकले ४१ दशमलब ५९ मात्र मत पाएका थिए। तैपनि, मतगणनाको औपचारिक घोषणा आइतबार गरिने निर्वाचन आयोगले जनाएको छ।
विजयी भएपछि प्रतिक्रिया दिँदै ४५ वर्षीया क्यापुटोभाले विपक्षीलाई गालीगलौज नगरी पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टी भएको बताइन्। यही प्रवृत्ति युरोपेली संसद र अर्को वर्ष हुने स्लोभाक संसदको चुनावमा पनि दोहोरिने विश्वास व्यक्त गरे।
सत्तारुढ दलका तर्फबाट चुनावमा उठेका ५२ वर्षीय सेफ्कोभिकले आफ्नो हार भएको स्वीकार्दै क्यापुटोभालाई विजयी भएकामा बधाई दिएका छन्। सत्तारुढ स्मेर-एसडी पार्टीका तर्फबाट प्रधानमन्त्री रहेका पिटर पेलिग्रिनीले राष्ट्रपतिसँग रचनात्मक समझदारी निर्माण गरिने बताए।