काठमाडाैँ - इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि भारतको दिल्लीमा रहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने शुरुआती २ खेलमा प्लेइङ सेटमा परेनन्।
विश्वका प्रसिद्ध टी-ट्वान्टी लिगहरुमा उत्कृष्ट प्रदर्शन गरिसकेका सन्दीपलाई उनी सम्मिलित दिल्ली क्यापिटल्सले प्लेइङ सेटमा नपारेपछि नेपाली क्रिकेट समर्थकले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। तर, दिल्लीका बलिङ कोच रिकी पोन्टिङले सन्दीप दिल्लीको सुपर हतियार भएको र उचित समयमा उनको प्रयोग गरिने बताएका छन्।
पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएकोे दिल्लीले दोस्रो खेलमा चेन्नईसँग पराजय व्यहोर्यो। त्यस्तै शनिबार हुने तेस्रो खेलमा दिल्लीले कलकत्ता नाइट राइडर्सको सामना गर्दैछ। नेपाली समयअनुसार साँझ ८:१५ बजे दिल्लीस्थित फिरोज साह कोट्ला मैदानमा हुने खेलमा नेपाली स्पीनर सन्दीपले पनि मौका पाउन सक्ने अनुमान गरिएको छ।
दिल्लीको मैदानको सतहलाई हेर्ने हो भने चेन्नईसँगको खेलमा राखिएको प्लेइङ सेटमा केही परिवर्तन गरिने अनुमान गर्न सकिन्छ। जसमध्ये किमो पौलको स्थानमा पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर क्रिस मोरिसलाई उतार्ने अनुमान गरिएको छ।
त्यस्तै चेन्नईसँगको खेलमा ३ विदेशी खेलाडीलाई मात्र मैदानमा उतारेको दिल्लीले आज अमित मिश्राको स्थानमा सन्दीप लामिछानेलाई उतार्ने सम्भावना रहेको छ। कलकत्ताका उत्कृष्ट फर्ममा रहेका आन्द्रे रसललाई रोक्न दिल्लीले स्पीनरलाई प्रमुख हतियार बनाउने लगभग निश्चित छ।
अनुमानित दिल्ली क्यापिटल्सको टोलीः पृथ्वी शह, शिखर धवन, श्रेयस ऐयर(कप्तान), कोलिन इन्ग्राम, ऋषभ पन्त, क्रिस मोरिस, अक्षर पटेल, राहुल तेवाटिया, अमित मिश्रा-सन्दीप लामिछाने, कागिसो रवाडा र इशान्त शर्मा।