काठमाडौं – इन्डियन प्रीमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सले बिजयी शुरुवात गरेको छ। घरेलु मैदानमा भएको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी रोयल च्यालेन्जर्स बैङलोरलाई ७ विकेटले पराजीत गर्दै चेन्नईले शानदार शुरुवात गरेको हो।
पहिले व्याटिङ गरेर बैङलोरले दिएको ७१ रनको झिनो लक्ष्य पुरा गर्ने क्रममा चेन्नईले १७ ओभर ४ बल खेल्दै ३ विकेट मात्र गुमायो। चेन्नईको तर्फबाट ओपनर अम्बाती रायडुले सर्वाधिक २८ रनको पारी खेले। उनी महमद सिराजको बलमा बोल्ड भए।
त्यस्तै मोइन अलिको बलमा क्याच आउट हुनुअघि सुरेश रैनाले १९ रन बनाए भने केदार जादवले १३ रन बनाए। रवीन्द्र जडेजाले ६ रन बनाए भने अाेपनर शेन वाट्शन भने शुन्य रनमै युजवेन्द्र चहलको बलमा आउट भए।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको बैङलोर १७ ओभर १ बलमा ७० रन मै समेटीएको थियो। बैङलोरलाई सस्तोमा समेट्ने क्रममा चेन्नईका इमरान ताहिरले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिए भने भारतीय भेट्रान स्पिनर हरभजन सिंहले पनि ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।
त्यस्तै रविन्द्र जडेजाले २ र ड्वेन व्राभोले १ विकेट लिए। वैङलोरका लागि ओपनर पार्थिव पटेलले अन्तिम विकेटको रुपमा आउट हुनुअघि बनाएको २९ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बिराट कोहली ६ रन र एवी डे भिल्लियर्स ९ रनमा आउट भए।
प्रतियोगिता अन्तरगत दोश्रो खेलमा आइतवार कोलकत्ता नाइट राइर्डस र सनराइजर्स हैदरावादवीच हुनेछ भने आइतवार नै तेश्रो खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्नेछन्।