विराटनगर - पाँचौँ साफ महिला च्याम्पियनशिपको उपाधिको लागि शुक्रबार नेपाल र भारत आमनेसामने हुँदैछन्। यी दुई टोली बीचको फाइनल खेल मोरङको विराटनगरस्थित शहीद रंगशालामा दिउँसाे तीन बजे हुनेछ।
फाइनल खेल अघिको प्रि-म्याच पत्रकार सम्मेलन बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भारत बलियो भए पनि यसपटकको साफमा भारतको वर्चस्व नेपालले तोड्ने बताएका छन्। उनले भने, ‘दक्षिण एसियामा भारत बलियो र स्थापित टोली हो। हामीले पनि फाइनल सम्मको यात्रा तय गरेका छौँ। हामी पनि स्थापित हुने क्रममा छौँ।’
यसअघि भारतसँग भएका २ खेलमध्ये एकमा जीत र एकमा बराबरी भएको बताउँदै खड्काले भने ‘टिमको मनोबल उच्च छ। उनीहरुको विङ्समा केही राम्रो देखिएको छ। हामी उनीहरुलाई रोक्दै उपाधि जित्ने लक्ष्यका मैदानमा उत्रिनेछाैँ।’ नेपाली टोली सन्तुलित रहेको र बढी मेहनत गरेर खेले भारतलाई पराजित गर्दै उपाधि जित्न सक्षम रहेको खड्काले बताए।
साफ महिला च्याम्पियनशिपमा भारतको वर्चस्व रहेको बताउँदै खड्काले भने ‘यस अघिका चार संस्करणमा नेपाल भारतसँगै पराजित छ। भारत अपराजित रहँदै चारै संस्करणको च्याम्पियन हो। हामी साफमा भारतको वर्चस्व तोड्न चाहन्छौँ।
नेपाली टोली फाइनलका लागि तयार रहेको जानकारी दिँदै उनले भोलिको दिन नेपालको हुनेमा विश्वस्त रहेको बताए। नेपालको मुख्य हतियार फाइटिङ स्प्रिट रहेको र भारतसँगको डोमिनेटिङ नेचर हटेका कारण अलिकति बढी मिहेनत गरे उपाधि जित्न सकिने उनको दाबी थियो।
सेमिफाइनलमा श्रीलंकालाई ४-० ले पराजित गर्दै चौंथो पटक साफको फाइनलमा प्रवेश गरेको नेपालको यसै प्रतियोगितामा इतिहास भने कमजोर रहेको छ। त्यस्तै अर्कोतर्फ एकछत्र राज गर्दै आएको भारतले बंगलादेशलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको हो।