काठमाडौँ - दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४-० गोलअन्तरले स्तब्ध पार्दै भारतले साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ।
मोरङको विराटनगरस्थित शहीद रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा समूह ‘ए’को उपविजेता बंगलादेशविरुद्ध शानदार जीत निकालेको भारतले उपाधिका लागि ८ गते शुक्रबार नेपालसँग खेल्नेछ।
खेलको १८औँ मिनेटमा डालिमा छिब्बरको गोलमार्फत शुरुआती अग्रता लिएको भारतले २३औँ मिनेटमा काथिरिशानको गोलबाट अग्रता दोब्बर बनायो। त्यस्तै, ३७औँ मिनेटमा ईन्दुमतिले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई पहिलो हाफमा ३-० को अग्रता दिलाएकी थिइन्।
दोस्रो हाफमा केही सम्हालिएर खेलेको बंगलादेशविरुद्ध भारतले अन्तिम गोल खेलको अतिरिक्त समयमा गरेको थियो। भारतका लागि परिवर्तित खेलाडी मनिषाले चौथो गोल गर्दै भारतको जीत सुनिश्चित गरिन्।
यस अघिका चारवटै संस्करणको विजेता रहेको भारत शुक्रबार हुने नेपालसँगको उपाधि भिडन्तमा सोही क्रमलाई निरन्तरता दिन चाहन्छ। सदैव नेपालको उपाधि यात्रामा बाधक बन्ने गरेको भारतविरुद्ध नेपालले गत महिना उसकै मैदानमा ऐतिहासिक जीत हासिल गरेको थियो।
उडिसामा सम्पन्न हिरो महिला गोल्डकपको दौरानमा नेपालले भारतलाई २-१ले हराउँदा दुवै गोल नेपालकी फरवार्ड सावित्रा भण्डारीले गरेकी थिइन्। शुक्रबार हुने खेलमा पनि नेपालले उनीबाट सोही किसिमको प्रदर्शनको अपेक्षा गर्नेछ। त्यसो त हिरो गोल्डकपमा सातो लिएकी सावित्रालाई रोक्न भारतीय रक्षापंक्ति पनि अतिरिक्त अभ्यास गर्ने सजिलै अनुमान लगाउन सकिन्छ।