काठामाडौँ - विराटनगरमा जारी साफ महिला च्याम्पियनशिपअन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’को उपविजेता श्रीलंकालाई ४-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
विराटनगरस्थित शहीद रंगाशालमा बुधबार बिहान ११ बजे शुरु भएको खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो।
पहिलो हाफमै शुरुआती अग्रता बनाएको नेपालका लागि खेलको ७२औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। उनले रेखा पौडलको सुन्दर पासलाई उत्कृष्ट फिनिसिङ गर्दै उनले नेपालको अग्रता लम्ब्याएकी थिइन्। अनिताको यो प्रतियोगितामा दोस्रो तथा नेपालका लागि तेस्रो गोल हो।
फरवार्ड सावित्रा भण्डारीको टाउको हुँदै आएको कप्तान निरु थापाको क्रसलाई दायाँ खुट्टाले ट्याप इन गर्दै बललाई जाली चुमाएकी थिइन्। उनले २२औँ अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेकी हुन्।
त्यस्तै, गोलका लागि निरन्तर संघर्षरत नेपाली फरवार्ड सावित्रा भण्डारीले ८२औँ मिनेटमा हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता ३–० को अन्तरमा पुर्याएकी थिइन्। उनले अनिता पौडेलको क्रसलाई सदुपयोग गर्दै प्रतियोगितामा व्यक्तिगत तेस्रो गोल गरेकी हुन्।
त्यस्तै, पाहुना टोलीमाथि हावी बनेको नेपाली टोलीका लागि कप्तान निरु थापाको स्थानमा परिवर्तित खेलाडी रेखा पौडेलले चाैथो गोल गर्दै नेपालको जीत सुनिश्चित गरिन्। पौडेलले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेकी हुन्।
यसअघि पहिलो हाफमा नेपाली टोलीका लागि पुनम जर्घामगरले खेलको ४१औँ मिनेटमा गोल गर्दैं शुरुआती अग्रता दिलाएकी थिइन्।
जीतसँगै नेपाल प्रतियोगितामा १ गोल पनि नखाइकन फाइनलमा पुगेको छ। यसअघि भएका समूह चरणका खेलमा भुटान र बंगलादेशलाई नेपालले समान ३-० गोल अन्तरले पराजित गरेको थियो।
फाइनलमा नेपालको भेट बुधबार नै दिउँसो ३ बजे हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ।