काठमाडौँ - जापानमा जारी नवौं सितोरियो कराते विश्व च्याम्पियनशिपमा नेपालले दुई पदक जित्न सफल भएको छ। आइतबार भएको खेलमा नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन्।
काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५-० ले पराजित हुँदा पन्तले रजत पदकमै चित्त बुझाए। नेपालले सितोरियो करातेमा विश्व च्याम्पियनशिपमा जितेको यो नै अहिलेसम्मको ठूलो पदक हो। यसअघि नेपालले नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो। यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८-० को जीत निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा उनले मेक्सिकोमाथि १-० को जीत निकालेर फाइनलमा स्थान बनाएका थिए।
यसैगरी ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन्। विजयले कास्य पदकका लागि भएको भिडन्तमा आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७-० ले हराएर पदक जितेका हुन्। त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४-२ को जीत निकालेका थिए। यस्तै क्वाटरफाइनलमा हङकङका खेलाडीसँग २-२ को बराबरी खेलेका थिए।
प्रतियोगितामा ३९ देशका करीब १२ सय खेलाडीले भाग लिएका छन्। सितोरियो विश्व च्याम्पियनशिपमा ऐतिहासिक पदक जितेपछि प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडी सितोरियो करातेमा राम्रो भएको सन्देश गएको बताए।