काठमाडाैँ - स्पेनिस ला लिगा अन्तर्गत २८औँ हप्ताको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ। आइतबार रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ४-१ गोलको फराकिलो जीत निकालेकाे हो। बार्सिलोनालाई अवे मैदानमा जीत दिलाउन कप्तान लियोनल मेसीले ह्याट्रिक तथा लुइस स्वारेजले गोल गरे।
खेलको शुरूआती १८औँ मिनेटमा बार्सिलोनाका आर्थरलाई फाैल गरेपछि पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै कप्तान मेसीले बार्सालाई शुरूआती अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा लुइस स्वारेजको पासलाई जाली चुमाउँदै मेसीले अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफमा २ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप २ गोल थप्यो। गोलका लागि संघर्षरत स्वारेजले खेलको ६३औँ मिनेटमा गोल गर्दै बार्साको अग्रता ३-० गोलअन्तरमा लम्ब्याएका थिए।
जीतको आशा गुमाइसकेको रियल बेटिसका लािग ८१औँ मिनेटमा लोरेन मोरेनोले सान्त्वना गोल फर्काएका थिए। उत्कृष्ट प्रदर्शन गरेका बार्साका कप्तान मेसीले ८५औँ मिनेटमा इभान राकिटिचको पासमा चिप गोल गर्दै ह्याट्रिक पूरा गरे।
यो मेसीको करियरको ५१औँ ह्याट्रिक हो। उनले ला लिगामा २८ खेल खेल्दै २९ गोल गरेका छन्। बार्सिलोना अहिले ६६ अंकका साथ ला लिगाको शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५६ अंक छ।