किशोर विश्वकर्मा, विराटनगर - शहीद रंगशालामा जारी पाँचौ महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न श्रीलंकाविरुद्धको खेलमा भारतले शानदार जीत हासिल गरेकाे छ।
श्रीलंकालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै भारत समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा अब भारतले बंगलादेशसँग खेल्नेछ। खेलको पहिलो हाफमा ४ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा पाँचौँ गोल गर्यो।
भारतको जीतमा ड्याग्मी ग्रेस, सन्ध्या रंगनाथ, इन्दुमथी काथिरेसान, संगिता बास्फोरेले र रतनबाला देवी नोंगमाइथेनले एक-एक गोल गरिन्।
खेलमा हावी बनेको भारतले श्रीलंकालाई गोल गर्ने कुनै मौका दिएन। खेलमा श्रीलंका निरीह बनेको थियाे।समूहको पहिलो खेलमा दुवै टोलीले माल्दिभ्सविरुद्ध सहज नतिजा निकालेका थिए। भारतले माल्दिभ्सलाई ६-० गोलको भारी बोकाएको थियो भने श्रीलंकाले २-० ले पराजित गरेको थियो।
समूह ‘बी’को उपविजेता बनेको श्रीलंकाले अब सेमिफाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेलमा पराजित माल्दिभ्स र भुटान प्रतियोगिताबाट बाहिरिसकेका छन्। सेमिफाइनलको पहिलो खेल बुधबार बिहान ११ बजे र दोस्रो खेल दिउँसो ३ बजे हुनेछ।