एजेन्सी- भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवारको सूची पेश गर्ने विषयमा आवश्यक छलफल गरेकोे समाचारमा जनाइएको छ।
शनिबार राति अबेर बोलाइएको सो बैठकले आइतबार बिहानीपखसम्म छलफल गरी आगामी आम निर्वाचनमा पार्टीका तर्फबाट ११ ओटा राज्यमा उठाइने उम्मेदवार छनौट गरेको बताइएको छ।
श्रोतका अनुसार उनीहरुले अहिले ११ राज्यका निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सूची तयार पारेका छन् तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन।
उक्त समितिले विहार, उत्तराखण्ड, आसाम, अरुणाञ्चल, मणिपुर, त्रिपुरा, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरका लागि उम्मेदवारहरुको सूची बनाएको बताइएको छ। पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश, उत्तराखण्ड, आसाम, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरमा पहिलो चरणमा निर्वाचन हुन लागेको छ।
सात चरणमा हुने निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन भने अप्रिल ११ मा हुने तय भएको छ। मन्त्रीहरु सुष्मा स्वराज, राजनाथ सिंह, अरुण जेट्ली र किरण रिजिजु पनि बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ। (रासस)