काठमाडौँ - यो सिजन स्पेनिस ह्याभिवेट रियल मड्रिडका लागि दुखद् रह्यो। सन् २००९ देखि निरन्तर टोलीको महत्वपूर्ण खेलाडीको रुपमा ९ वर्ष बिताएका क्रिस्टियानो रोनाल्डोले क्लब छाडे। त्यस्तै तीन वर्षमा तीन च्याम्पियन्स लिग र एक ला लिगासहित ९ ट्रफी जिताएका प्रशिक्षक जिनेदिन जिदानले पनि पदबाट राजिनामा दिए।
एकैसाथ २ सफल व्यक्तित्वलाई गुमाएका रियल सम्हालिन नसक्दा प्रदर्शन पनि राम्रो गर्न सकेन। फलस्वरुप लगातार ३ च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाटै बाहिरियो। त्यस्तै ला लिगामा पनि लिग लिडर बार्साभन्दा ९ अंकले पछाडि परिसकेको छ।
जिदानले प्रशिक्षकको पद छोडेयता निरन्तर ओरालो लागेको रियललाई माथि उठाउन जिदानले पुन: प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। आयाक्ससँग घरेलु मैदानमै ४-१ गोलको लज्जास्पद हार व्यहोरेपछि तत्कालीन प्रशिक्षक सान्टियागो सोलारीलाई रियलले बर्खास्त गरी जिदानलाई पुन: अनुबन्ध गरेको छ।
आफ्नो पहिलो कार्यकालमा सर्वाधिक सफल रहेका जिदान दोस्रो कार्यकाल पनि त्यत्तिकै सफल बनाउन चाहन्छन्। उनको यस्तो सफलताको भोक अहिले नै देखिन थालेको छ। क्लबमा खेलाडी आवश्यक महशुस गरे भित्र्याउनका लागि लगभग ४ सय मिलियन जिदानलाई खर्च गर्न दिइने खबरहरु बाहिर आइरहेका बेला उनका आँखा युरोपमा तहल्का मच्चाइरहेका खेलाडीहरुमा डुल्न थालेकाे छ।
सोही क्रममा पहिलो कार्यकालमा उनले भित्र्याउन चाहेर पनि असफल रहेका म्यानचेस्टर युनाइटेडका स्पेनिस गोल किपर डेभिड डे गा पनि एक हुन्। डेभिडले पनि केही हदसम्म मन बनाएको बुझिए पनि युनाइटेडले बेच्न नचाहेपछि उक्त सम्झौता हुन सकेको थिएन। तर, जिदानको पुनरागमनसँगै उनलाई रियलमा भित्र्याउने विषयले चर्चा पाएको छ।
हुन त रियलसँग अहिले गत विश्वकप २०१८ का गोल्डेन ग्लोब विजेता तथा उत्कृष्ट गोलकिपर टिबाउट क्वर्टोज छन्। तर उनको प्रदर्शनबाट रियल खुशी देखिँदैन भने जिदान पनि उनको प्रतिस्थापनमा डेभिडलाई भित्र्याउन चाहन्छन्। रियलले २८ वर्षीय स्पेनिस स्टपरलाई ७५ मिलियन युरोमा शुरुआती प्रस्ताव गर्ने बुझिएको छ।
सोही विषयमा केन्द्रित रहेर सामाजिक सञ्जालमा गरिएको पब्लिक भोटिङमा पनि डेभिड रियल जाने पक्षमा ५९ प्रतिशत भोट गरिएको छ।
त्यस्तै जिदानको पुनरागमनसँगै चेल्सीका बेल्जियन फरवार्ड हाजार्डको पनि अर्को सिजन स्पेन कि इङ्ग्लयान्ड भन्ने द्विवधा बढेको छ। हाजार्ड पनि उनका लङ्ग-टर्म टार्गेट रहेका छन्। सोही क्रममा कतिपय फूटबल विश्लेशकहरुले पिएसजीका फ्रेन्च युवा स्टार एम्बाप्पेले अर्को सिजन रियलको जर्सीमा बिताउने अड्कल बाजी गर्न थालेका छन्।
त्यस्तै जिदानको आगमनसँगै गेराथ बेल तथा भिन्सस जुनियरमा कसको के भविष्य हुने भन्नेमा पनि विभिन्न शंका आशंका उब्जिएका छन्।