दमौली - तनहुँको देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने छरछरे झरनामा क्यानोनिङ खेलको सफल परीक्षण गरिएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार र शनिबार आयोजित प्रथम छरछरे महोत्सवका क्रममा क्यानोनिङ खेलको सफल परीक्षण गरिएको हो।
देवघाटदेखि मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको छरछरेमा करीब २०० मिटर माथिबाट झरेको झरनामा पोखराबाट आएका दुई जना खेलाडीले क्यानोनिङको परीक्षण गरेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए।
प्रचारप्रसारको अभावमा ओझेलमा परेको उक्त स्थानमा अब क्यानोनिङका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गरिने थापाले बताए। उनले भने, ‘क्यानोनिङको सफल परीक्षण भएसँगै यसको प्रचारप्रसार र प्रवद्र्धनमा जोड दिन्छौँ।’
क्यानोनिङ खेलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्थलगत अवलोकनसमेत गरेका छन्। सो अवसरमा मन्त्री गुरुङले यस्ता साहसिक खेलमार्फत यस क्षेत्रको प्रचारप्रसार गर्नसकेमा वर्षमा हजारौँ पर्यटक भित्र्याउन सकिने मन्त्री गुरुङको भनाइ थियो। देवघाट गाउँपालिका वडा नं १ का अध्यक्ष भीमबहादुर गुरुङले भौगोलिकरुपमा विकट भएका कारणले उक्त झरनाको अहिलेसम्म पर्याप्त प्रचारप्रसार हुन नसकेको बताए। छरछरे झरना कोटा भतेरी हुँदै पुग्न सकिन्छ। हिउँद र वर्षा दुवै समयमा झरनामा पानी हुने गरेको छ।
साहसीहरुले झरनाको शिरबाट डोरीको सहायताले फेदी (दह, किनार) सम्म रमाउँदै झरेर मनोरञ्जन लिने खेललाई क्यानोनिङ भनिन्छ।
https://www.youtube.com/watch?v=5wsz6uMX7jU