वीरगञ्ज - संघीय समाजवादी फोरम नेपालका युवा नेता तथा प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले सरकारले क्षमतावान खेलाडीहरुको पलायन रोक्नुपर्ने बताएका छन्।
प्रथम छपकैया भेट्रान्स तथा लेडिज फूटबल प्रतियोगितामा सहभागी खेलाडीहरुलाई शिल्ड एवं प्रमाण पत्र वितरण गर्दै उनले भने, ‘खेल जगतबाट क्षमतावान खेलाडीहरुको पलायन रोक्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल खेल्न जाने खेलाडीहरुलाई सरकारी स्तरमा रोजगारी दिएर उनीहरुको जीवनयापन सहज बनाउनु जरुरी छ।’
खेलकुदको विकासका बारेमा सक्रिय रहेर सहयोग गर्दै आएका सांसद यादवले पर्सा जिल्लामा शून्य हुँदै गएको खेल जगतलाई हाल भइरहेका विभिन्न प्रतियोगिताहरुले जिवन्त राख्न सहयोग पुर्याउने भएकाले खुशीसमेत व्यक्त गरे।
पर्सामा राष्ट्रिय स्तरका खेलाडीहरु रहे पनि विभिन्न समस्याका कारण खेल जगत छाडेर जीविकोपार्जनका लागि अन्य पेशा रोज्नुपर्ने बाध्यताप्रति चिन्ता व्यक्त गरे।
खेल जगतबाट नै विश्वमा नेपालको समेत पहिचान हुने भएकाले खेलाडीहरुप्रति सरकारले गम्भीर भएर सोच्नुपर्ने सांसद यादवले बताए। कार्यक्रममा उनले फूटबल प्रतियोगीतामा सहभागी चितवन भेट्रान्स क्लब र वीरगञ्ज भेट्रान्स क्लब तथा रौतहट युथ क्लब र वीरगञ्ज युथ क्लबका खेलाडीहरुलाई शिल्ड, चेक तथा प्रमाणपत्रसमेत वितरण गरेका थिए।