काठमाडौँ - विश्व प्रसिद्ध फ्रेन्चाइज इन्डियन क्रिकेट लिग (आईपीएल-१२) आउँदो मार्च २३ तारिखदेखि शुरु हुँदैछ। भव्य तयारी गरिरहेका ८ टोली उपाधिका लागि भिडरहँदा भारतका ४ दिग्गज ब्याट्सम्यानबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।
आईपीएल २३ तारिखमा साबिक विजेता चेन्नइ सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेलबाट शुरु हुने छ। यो संस्करणमा क्रिकेटमा तहल्का मच्चाएका भारतका पूर्व-कप्तान महेन्द्रसिंह धोनी, कप्तान विराट कोहली, रोहित शर्मा र सुरेश रैनाबीच २ सय छक्का कसले पहिले प्रहार गर्ने भन्ने विषयमा रोचक प्रतिस्पर्धा हुनेछ।
यद्यपि क्यारेवियन विस्फोटक ओपनर क्रिस गेलले यसअघि नै १ सय १२ खेलमा २ सय ९२ छक्का उडाइसकेका छन्। तर कुनै भारतीय खेलाडीले २ सयको आँकडा पार गर्न सकेका छैनन्।
चेन्नइका कप्तान धोनी १ सय ७५ खेलमा १ सय ८६ छक्का उडाउँदै शीर्ष स्थानमा छन् भने सुरेश रैनाले १ सय ७६ खेलमा १ यस ८५ छक्का प्रहार गर्दै दोस्रो स्थान ओगटेका छन्। त्यस्तै मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा १ सय ७३ खेलमा १ सय ८४ छक्का उडाउँदै तेस्रो स्थानमा छन्। १ सय ६३ खेलमा १ सय ७८ छक्का उडाएका कोहली चौथो स्थानमा रहेका छन्।