विराटनगर – राष्ट्रिय महिला फूटबल टिमका प्रशिक्षक हरि खड्काले महिला साफ च्याम्पियनशिपअन्तर्गत शनिबार हुने बंगलादेशविरुद्वको खेलमा नेपाल आक्रमक शैलीमा मैदानमा उत्रिने बताएका छन्।
शुक्रबार पत्रकारसँग कुरा गर्दै खड्काले भने, ‘समूह चरणको दोस्रो खेलका लागि नेपाल पूर्ण रुपमा तयार छ।’ उनले भने, ‘बंगलादेशविरुद्वको खेल जितेर समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गर्ने हाम्रो लक्ष्य हो।’
प्रतियोगिताका अन्य सहभागीलाई कम आँक्न नसकिने बताउँदै खड्काले भने, ‘बंगलादेश उदाउँदो शक्ति हो। नेपालले आफूलाई स्थापित गरिसकेको छ। भारत सदाबहार टिम हो।’
बंगलादेशविरुद्व नेपालको रणनीति तयार भइसकेको र फरवार्ड लाईन दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै फरवार्डले क्षमता अनुसारको खेल प्रदर्शन गर्नसके नेपालको जीतका लागि प्रशस्त हुने बताए।
डिफेन्सको परिक्षण हुन बाँकी रहेको स्वीकार गर्दै आफूले टिममा ल्याएको सन्तुलन भोलीको खेलमा देखिने प्रस्ट पारेका छन्।
नेपाली टिमकी कप्तान निरु थापाले बंगलादेशविरुद्व सुधारिएको प्रर्दशन गर्ने बताएकी छन्। टिम सबै पक्षमा उत्कृष्ट रहेको बताउँदै उनले भनिन् ‘प्रशिक्षकको निर्देशनलाई बंगलादेशविरुद्वको खेलमा उतार्ने छौँ।’