किशोर विश्वकर्मा, विराटनगर - पाँचौं साफ च्याम्पियनशिप महिला फूटबल प्रतियोगिताका लगातार दुई खेलमा पराजित भएसँगै भुटान घर फर्किएको छ।
विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशसँग २-० गोलले पराजित भएपछि भुटान प्रतियोगिताबाटै बाहिरिएको हो। यसअघि नेपालसँगको पहिलो खेलमा भुटान ३-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। भुटान पराजित भएसँगै बंगलादेश र नेपाल एक खेल अगावै सेमिफाइनल पुगेका छन्।
समूह ‘ए’ मा नेपाल र बंगलादेशको समान ३ अंक रहेको छ। यिनै दुई देशबीचको शनिबारको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ।
समूह ‘बी’अन्तर्गत श्रीलंका र माल्दिभ्सबीचको खेल शुक्रबार हुनेछ। समूह ‘बी’मा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ।