काठमाडौँ - स्पेनिस क्लब बार्सिलोना युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति सम्पन्न प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब ओलम्पियक लियोनलाई मैदानमा ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै ४ पटकको च्याम्पियन बार्साले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।
लियोनको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा गोलरहित बराबरीमा रोकिएको बार्साले घरेलु मैदानमा गोल वर्षा गर्यो। शुरुआती मिनेट देखि नै आक्रामक शैलीमा मैदानमा उत्रिएको बार्साले १८औँ मिनेटमा कप्तान लियोनल मेसीको गोलबाट अग्रता लियो।
उनले लुइस स्वारेजलाई लियोनका डिफेन्डर डेनायरले डि-बक्स भित्र लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै अग्रता दिलाएका थिए। घरेलु मैदानमा हावी देखिएको बार्साका लागि लुइस स्वारेजको पासलाई जाली चुमाएर ३१औँ कौटिन्होले उसको अग्रता दोब्बर पारे।
पहिलो हाफमा गोलका लागि निरन्तर प्रयास गरेपनि दुवैतर्फबाट थप गोल हुन सकेनन्। पहिलो हाफमा २ गोललेपछि परेको लियोनले दोस्रो हाफका शुरुआती मिनेटमा खेलमा फर्किने कोसिस गरेको थियो। सोही क्रममा खेलको ५८औँ मिनेटमा लुकास टसर्टले १ गोल फर्काएका थिए।
लियोनले गोल फर्काएसँगै लियोनमाथि दबाब सिर्जना गरेको बार्साका लागि खेलको ७८औँ मिनेटमा कप्तान मेसीले व्यक्तिगत दोस्रो गोल गर्दैे अग्रता ३-१मा लम्ब्याए।
पाहुना टोली विरुद्ध हावी बनेको बार्साले खेलको ८१औँ मिनेटमा काउन्टर अट्याकमार्फत अर्को गोल थप्यो। मेसीको पासमा डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै अग्रता ४-१ मा पुर्याएका थिए। निर्धारित ९० मिनेटको खेलसकिन ४ मिनेट बाँकी हुँदा मेसीकै पासमा परिवर्तित खेलाडी डेम्बेलेले गोल गर्दै बार्साको जीत सुनिश्चित गरे।
यो जीतसँगै बार्सा आफ्नो मैदान क्याम्प नउमा भएका च्याम्पियन्स लिगका पछिल्ला ३० खेलमा अपराजित रहँदै प्रतियोगितामा नयाँ रेकर्ड राख्न सफल भएको छ। पछिल्लो समय बार्सिलोना २०१२/१३ मा सेमिफाइनलको बार्यन म्युनिखसँग दोस्रो लेगमा ३-० ले पराजित भएको थियो।