किशाेर विश्वकर्मा, विराटनगर – मोरङको विराटनगस्थित शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। भारतको सशक्क्त आक्रमणसामु फितललो बनेको माल्दिभ्सले लज्जास्पदहार व्यहोरेको हो।
पहिलो हाफमा पाँच गोल खाएर रणनीति बदलेको माल्दिभ्स दोस्रो हाफमा केही हदसम्म सम्हालिएर खेलमा सुधार गरेको थियो। माल्दिभ्सका डिफेन्सले भारतीय खेलाडीलाई पोष्टमा प्रहार गर्नबाट रोक्ने हदैसम्म बचाउ गरेका थिए। खेलको शुरुआती समयदेखि नै हावी बनेको भारतले जर्सी नम्बर ११ की ग्रेस दंगमीको गोलबाट अग्रता लिएको थियो।
त्यस्तै, खेलको ११औँ मिनेटमा भारतकी स्विटीदेवी नग्नग्याम्बले गोल गर्दैै टोलीको अग्रता दोब्बर पारिन्। माल्दिभ्सको कमजोर रक्षापंतीको भरपुर फाइदा उठाएको भारतका लागि इन्दुमति कथिरिसनले त्यसको १२ मिनेटपछि तेस्रो गोल गरिन्।
लगभग २५ मिनेटको समयमा ३ गोल खाएको माल्दिभ्सले खेलको २८औँ मिनेटमा चौथो गोल खायो। भारतको लागि चौथो गोल सन्जुले गरिन्। पहिलो हाफको इन्जुरी समयमा गोल किपरको गल्तीको फाइदा उठाउँदै रतनवाला देवीले थप १ गोल गरेपछि पहिलो हाफमा भारतले ५ गोलको अग्रता लिएको थियो।
वान् वे ट्राफिक चलाएको भारतका लागि आधा दर्जनौँ तथा व्यक्तिगत दोस्रो गोल सन्जुले गरिन्। निर्धारित समयको अन्तिम मिनेटमा उनले गरेको प्रहार माल्दिभ्सकी गोल किपर अमिनाथ लिजाले हातबाट फुत्काएपछि भएको थियो।