एजेन्सी - दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन्।
कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी महानिर्देशक रिही दोङ-योलले उत्तर कोरियाका लागि अमेरिकी उपसहायक मन्त्री अलेक्स वोङसँग वासिङ्टन डिसीमा बिहीबार भेटवार्ता गर्नेछन्।
उक्त भेटवार्तामा दुबै मुलुकका उत्तर कोरिया मामिलासँग सम्बन्धित अधिकारीहरु पनि सहभागी हुँदैछन्। गत महिनाको अन्त्यमा सम्पन्न हनोई वार्ता विफल भएपछि उत्तर कोरिया मामिलामा दक्षिण कोरिया र अमेरिकाका अधिकारीबीच पहिलो प्रत्यक्ष भेटवार्ता हुन लागेको हो।
बैठकको मुख्य कार्यसूची उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियालाई कसरी पुनर्जीवित तुल्याउने भन्ने रहेको छ। साथै, उत्तर कोरियामाथि रहेका प्रतिबन्धहरुमा केही राहत दिने दक्षिण कोरियाको प्रस्तावमाथि पनि विचार विमर्श हुँदैछ।
बैठकमा कोरियाली युद्धबाट अलग्गिएका उत्तर र दक्षिण कोरियाका परिवारबीच भिडियो मार्फत कुराकानी गराउने कार्यक्रममाथि पनि छलफल हुनेछ।
बैठकमा अन्तर–कोरियाली आर्थिक सहयोगका कार्यक्रम अघि बढाउने, उत्तर कोरियास्थित काइसोङ औद्योगिक क्षेत्र पुनः सञ्चालन गर्ने तथा माउन्ट कुमगाङ पर्यटन कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गर्ने योजना छ।
तर बैठकमा वासिङ्टन र प्योङयाङबीच आणविक वार्ता भङ्ग भएका बारेमा छलफल नहुने सम्भावना छ।
भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ-अनले योङबीन आणविक केन्द्र बन्द गर्ने तर त्यस बापत आफ्नो देशमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनी राख्नुभएको प्रस्तावलाई अस्वीकृत गरेका थिए।
दक्षिण कोरियाले राष्ट्रसङ्घको अगुवाईमा उत्तरमाथि लागेका प्रतिबन्धहरुलाई सम्मान गरी उत्तर कोरियालाई सीमित आर्थिक सहयोग गर्नेमा जोड दिँदै आएको छ।
एउटा नयाँ प्रतिवेदन अनुसार, प्रतिबन्धको अनुगमन गरिरहेका राष्ट्रसङ्घका विज्ञहरुको एक प्यानलले उत्तर कोरियाको बामपन्थी सरकारले गैरकानुनी विधिमार्फत विश्वका कतिपय वित्तीय फर्महरुसँग पहुँच कायमै राखेको बताएका छन्। साथै, पेट्रोलियम पदार्थ र कोइलाको अबैध व्यापार यथावत छ।
संयुक्तराज्य अमेरिकाले राष्ट्रसङ्घ सुरक्षा परिषदका प्रतिबन्धहरुलाई सबै देशले पूर्ण पालना गर्नुपर्ने बताउँदै आएको छ। दक्षिण कोरियाका राष्ट्रपति मून जाए-इनले प्योङयाङ र वासिङ्टनबीच मध्यस्थता गराउन प्रयत्नरत छन्।