काठमाडौँ - एथ्लेटिको मड्रिडविरुद्धको पहिलो लेगको नतिजा उल्ट्याउँदै युभेन्ट्स युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्ट्सका स्टार फरर्वार्ड क्रिस्टियानो रोनाल्डोले सनसनीपूर्ण ह्याट्रिक गरेपछि एथ्लेटिको मड्रिडको अन्तिम ८ मा पुग्ने सपना समाप्त भएकाे छ।
यसअघि पहिलो लेगमा २ गोलको अग्रता बनाएको एथ्लेटिको युभेन्ट्सको मैदानमा सम्हालिन नसक्दा समग्रमा ३-२ गोलले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ।
ईटालीको टुरिनस्थित युभेन्ट्स स्टेडियममा भएको खेलको २७औँ मिनेटमा फेड्रिको बर्नारडेस्चको क्रसलाई उत्कृष्ट हेडरमार्फत जाली चुमाउँदै रोनाल्डोले गोलको खाता खोलेका थिए। थप गोलका लागि संघर्षरत युभेन्ट्सले पहिलो हाफमा १-० गोलको अग्रता मात्र कायम राख्यो।
प्रतियोगितामा आफ्नो सम्भावना कायम राख्नका लागि दोस्रो गोलको भोको देखिएको युभेन्ट्सका लागि रोनाल्डोेले व्यक्तिगत दोस्रो गर्दै टोलीलाई प्रतियोगितामा फर्काएका थिए। दोस्रो हाफको तेस्रो मिनेटमा उक्त गोलमार्फत पहिलो लेगमा भोगेको २-० को पराजयबाट माथि उठेको युभेन्ट्सले निर्धारित ९० मिनेटको खेलसकिन ४ मिनेट बाँकी हुँदा क्वार्टरफाइनलको यात्रा तय गर्याे।
खेलको ८६औँ मिनेटमा एथ्लेटिकोका एन्जल कोर्याले युभेन्ट्सका फेड्रिकोलाई डि-बक्समा लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले युभेन्ट्सको जीत सुनिश्चित गरे। युभेन्ट्सले क्वार्टरफाइनलमा कोसँग खेल्ने भन्ने कुराको निर्धारण १५ मार्चमा स्वीट्जरल्याण्डको नियोनमा हुने ‘ड्र’ ले निर्धारण गर्नेछ।
हेर्नुहोस् हाइलाइट्सः
https://www.youtube.com/watch?v=m4Vo42sHSe4