काठमाडौँ – साबिक विजेता नेपाल आर्मीले आयोजक झापा–११ लाई ५–३ ले पराजित गर्दै लगातार दोस्रो पटक झापा गोल्ड कपको उपाधि जितेको छ।
डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा ४ पटक फाइनल यात्रा तय गरेको झापालाई पुनः निराश पार्दै आमीले उपाधि उचालेको हो।
खेलको २३औँ मिनेटमा सन्तोष तामाङको गोलमार्फत आर्मीले शुरुआती अग्रता लिएको थियो। सन्ताेषले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि–किक सिधै गोलमा परिणत भएको थियो।
त्यसको १० मिनेटपछि कप्तान भरत खवासले नवयुगको पासलाई सदुपयोग गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा झापाका लागि विदेशी फरवार्ड फ्रान्ससले एक गोल फर्काए।
पहिलो हाफमा २–१ ले पछाडि रहेकाे झाप दोस्रो हाफको शुरुमा योगेश गुरुङको गोलमार्फत खेलमा फर्किएकाे थियाे। तर आर्मीका नवयुग श्रेष्ठले ७५औँ मिनेटमा गोल गर्दै पुन: अग्रता दिलाएका थिए। त्यसको केहिबेरमा नै नवयुगले नै गोल गर्दै आर्मीकाे ४–२मा लम्ब्याए।
त्यस्तै इन्ज्युरी समयमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीको फराकिलो जीत पक्का गरेका थिए। अन्तिम समयमा झापाका भिक्टरले गरेकाे तेस्रो गोलले नतिजामा फरक पार्न सकेन।
उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ। लगातार दोस्रो पटक फाइनल गुमाउँदै उपविजेतामा चित्त बुझाएकाे झापाले ६ लाख रुपैयाँमा चित्त बुझायो।