पुस ७, भारत । पश्चिम बंगालमा आफ्नो राजनीतिक आधार बलियो बनाउने प्रयासमा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई कलकत्ता उच्च अदालतले ठूलो झड्का दिएको छ ।
भाजपाका अध्यक्ष अमित शाहले पश्चिम बंगालमा राजनीतिक आधार बलियो पार्नका लागि रथयात्रा गर्ने तयारी गरेका थिए । उच्च अदालतले त्यसमा रोक लगाएको छ ।
कलकत्ता उच्च अदालतमा यसबारे भएको अघिल्लो सुनुवाईको क्रममा न्यायाधीशहरुले रथ यात्राका लागि स्वीकृति दिएका थिए । ममता बेनर्जी नेतृत्वको राज्य सरकारले यसको विरोध गरेपछि फेरि सुनुवाई भएको हो । पछिल्लो सुनुवाईपछि उच्च अदालतले भाजपा अध्यक्ष शाहको प्रस्तावित रथ यात्रामा प्रतिबन्ध लगाएको हो ।
उच्च अदालतका मुख्य न्यायाधीशको एकल इजरासले अघिल्लो आदेशलाई रद्द गर्दै शाहको प्रस्तावित रथ यात्रामा रोक लगाएको हो ।