काठमाडौँ – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ। राष्ट्रिय खेलकूद परिषद्को सहयोग एवं नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने सो प्रतियोगिता आगामी वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुनेछ।
आइतबार आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले सो प्रतियोगितालाई जापानको बहुराष्ट्रिय कम्पनी केएनपीले मुख्य प्रायोजन गरेको जानकारी दिए। सो अवसरमा केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काबीच सम्झौतापत्र आदानप्रदान भएको हो। केएनपी जापानका नेपाल प्रमुख मिश्रले समाजलाई एकतामा बाँध्ने खेलकूद क्षेत्रमा कम्पनी जोडिन पाउँदा खुशी व्यक्त गरे। “हामी प्रतियोगिताको गरिमालाई बढाउन कुनै कसर बाँकी राख्ने छैनौँ”, उनले भने।
सम्झौता अनुसार सो प्रतियोगिता अब ‘पाँचाैँ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामले सञ्चालन हुनेछ। नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएपछि तेस्रो पटक मुख्य प्रायोजकको जिम्मेवारी सम्हालेको केएनपी जापानले आपसी समझदारीमा नगद, मञ्च व्यवस्थापन, होडिङ बोर्ड, तुल, ब्यानरलगायत फुटकर खर्चमा आयोजकसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।
नेपाल भलिबल सङ्घका महासचिव चन्दले नेपाली भलिबलको विकास र विस्तारमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको बताए। उक्त प्रतियोगितामा साविक विजेता एपीएफ, न्यूडायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकाउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तृतीय हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेशल अवार्ड विजेताले जनही रु १५ हजार प्राप्त गर्नेछन्। आयोजकका अनुसार चार दिनसम्म चल्ने सो प्रतियोगिता सञ्चालन गर्न अनुमानित रु २१ लाख लाग्नेछ।