काठमाडाैँ - शुक्रबार राति सम्पन्न खेलमा इटालियन सिरी ‘ए’ फूटबलको लिग लिडर युभेन्ट्स विजयी भएको छ। शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले उडीनेसलाई ४-१ गोलअन्तरले स्तब्ध पारेको हो।
युभेन्ट्सको जीतमा मोइसे किएनले दुई तथा इम्री कान र ब्लेइस म्याटुइडीले एक-एक गोल गरे। उडीनेसका केभिन लासंगाले सान्त्वना गोल फर्काए।
खेलको ११औँ मिनेटमा किएनको गोलबाट अग्रता लिएको युभेन्ट्सले ३९औँ मिनेटमा किएनकै दोस्रो गोलमार्फत अग्रता दोब्बर बनायो।
पहिलो हाफमा २ गोलले अगाडि रहेको युभेन्ट्सका लागि ६७औँ मिनेटमा कानले तेस्रो गोल गरे। ७१औँ मिनेटमा माटुइडीले गोल गर्दै युभेन्ट्सको अग्रता ४-० मा पुर्याएका थिए। घरेलु टोली हावी बनेको खेलमा कमजोर साबित भएको उडिनेसका लासंगाले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी हुँदा १ गोल फर्काए।
युभेन्ट्सले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई उडिनेसविरुद्धकाे खेलमा आराम दिइएको थियो। यो जीतसँगै युभेन्ट्सले लिग तालिकामा १९ अंकको अग्रता बनाएको छ।
२७ खेलबाट ७५ अंक जोडेको युभेन्ट्सले उपाधि जित्ने लगभग निश्चित जस्तै भएको छ। दोस्रो स्थानको नेपोलीको २६ खेलबाट ५६ अंक छ।