काठमाडौँ - नेपालले आयोजना गर्ने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) यही डिसेम्बर १ देखि १० तारिखमा हुने भएको छ। यसअघि मार्चमा हुने भनिएको साग भौतिक पूर्वाधार निर्माण हुन नसकेका कारण सारिएको मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
भारतको गुवाहटीमा सम्पन्न भएको १२औँ दक्षिण एशियाली खेलकुदका अवसरमा १३औँ संस्करण नेपालले आयोजना गर्ने जिम्मा लिएको थियो। २०७२ साल वैशाख १२ गते नेपालमा गएको महाभूकम्पका कारण ध्वस्त भएका भौतिक पूर्वाधारको समयमै पुनःनिर्माण हुन नसकेपछि पूर्वनिधारित समयभन्दा प्रतियोगिता पछि सरेकाे हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘हालै बैंककमा आयोजना भएको ओलम्पिक काउन्सिलको बैठकका दौरान भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औँ दक्षिण एसियाली खेलकुद २०१९ को डिसेम्बर १ देखि १० सम्म आयोजना गर्ने निर्णय गरेको छ।’
यसअघि १३औँ साग मार्च ९ देखि १८ सम्म आयोजना गर्ने निर्णय भए पनि भाैतिक पूर्वाधारकाे तयारी नसकिएकाले प्रतियाेगिता सेप्टेम्बरका लागि सार्ने चर्चा चलेकाे थियाे।
सागमा २३ खेल भएकोमा २ खेल आयोजक राष्ट्रले समावेश गर्न पाउने र जुनमा भएको बैठकले नेपाललाई एसियाली खेलकुदमा पद दिलाउन सफल खेल पाराग्लाईडिङ र क्रिकेटलाई पनि समावेश गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए।