सुर्खेत – दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) आगामी वैशाखमा वीरेन्द्रनगरमा हुने भएको छ। आइतबार कर्णाली किक्रेट एकेडेमीले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो।
वीरेन्द्रनगर रंगशालामा हुने प्रतियोगिता वैशाख १२ देखि २१ गतेसम्म चल्ने एकेडेमीले बताएको छ। देशका चर्चित ५ र ३ विभागीयसहित प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। ८ टिमलाई २ वटा समूहमा विभाजन गरि प्रत्येकले एक–अर्कासँग १–१ खेल खेलेपछि समूहको उत्कृष्ट–२ टिमले सेमीफाइनलमा खेल्ने एकेडेमीका अध्यक्ष जिवन शाहीले बताए। लिग–कम नक–आउट प्रणालीमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने उनले जानकारी दिए।
प्रतियोगितामा राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडीहरुको सहभागिता रहनेछ भने प्रत्येक टिममा २ जना विदेशी खेलाडीको पनि सहभागी गराउन सकिने प्रावधान छ। ६० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको पुस्कार राशि भने केही समयपछि घोषणा गरिने छ। गतवर्ष पहिलो सिजनमा विजेतालाई तीन लाख उपलब्ध गराएको भन्दै यस वर्ष पुरस्कारको राशि बढाईने आयोजक बताएका छन्।