काठमाडाैँ । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौरका २८ वर्षीय विमल राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार राति करिब साढे १२ बजे भालुखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो। भे २ त ५९ नम्बरको उक्त ट्याक्टर भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै थियो। दुर्घटनाका क्रममा ट्याक्टरमा सवार मजदुर रानालाई ट्याक्टरको अगाडिको भागले च्यापेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैराका ४८ वर्षीय चन्द्र प्रकाश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।