काठमाडौँ । दसैँको मुखमा विद्युत् सेवाबाट वञ्चित भएका खोटाङका तीन गाउँमा पूर्वसुबेदार तिलक बहादुर थापाको आर्थिक सहयोगपछि पुनः उज्यालो फर्किएको छ।
नेपाली सेनाको श्री इन्द्रध्वज गणबाट अवकाश प्राप्त थापाले विद्युत् सेवा सञ्चालनका लागि ८१ हजार ५१७ रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका हुन्। जन्तेढुंगा गाउँपालिका–१, देवस्थान निवासी थापाको सहयोगमा स्थानीय पञ्चकन्या हाइड्रोपावरको मर्मतसम्भार गरी विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको हो। हाइड्रोपावरमा जडान गरिएको फित्ता छुट्टिएपछि करिब एक महिनादेखि विद्युत् उत्पादन तथा वितरण ठप्प भएको थियो।
आर्थिक अभावका कारण आवश्यक मर्मत गर्न कठिनाइ भइरहेका बेला थापाले व्यक्तिगत रूपमा फित्ता उपलब्ध गराएपछि विद्युत् सेवा सुचारु गर्न सहज भएको हो। दसैँजस्तो महत्त्वपूर्ण चाडको समयमा बत्ती नहुँदा स्थानीय बासिन्दाले विभिन्न समस्या झेल्नुपरेको थियो। विद्युत् सेवा पुनः सञ्चालनमा आएपछि तीन गाउँका बासिन्दालाई दसैँ मनाउन सहज भएको छ। चाडपर्वकै समयमा गाउँमा उज्यालो फर्किएपछि स्थानीय उपभोक्तामा खुसी छाएको छ।
व्यक्तिगत खर्चमा सहयोग उपलब्ध गराएर गाउँमा विद्युत् सेवा सञ्चालन गर्न योगदान पुर्याएको भन्दै सम्बन्धित समितिका पदाधिकारी तथा स्थानीय उपभोक्ताले पूर्वसुबेदार थापाप्रति आभार व्यक्त गरेका छन्। समितिले थापाको सामाजिक सेवाभावको प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँका सामाजिक कार्यले निरन्तरता पाओस् र हरेक कदममा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ।