काठमाडौँ । नेपाल र बङ्गलादेशको संयुक्त आयोजनामा हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली भूमिमा सञ्चालन हुने भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा आयोजना गरिनेछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली मैदानमा हुने खेलहरू त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहआयोजकका रूपमा सहभागी हुँदैछ। प्रतियोगिताको समूह चरणमा नेपालले भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। यु–१९ महिला विश्वकप आयोजना गर्ने अवसर नेपालले पहिलोपटक प्राप्त गरेको हो। यसले नेपाली महिला क्रिकेटको विकास, अन्तर्राष्ट्रिय पहिचान विस्तार र घरेलु क्रिकेट पूर्वाधारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।