काठमाडौं ।सरकारले काठमाडौँमा खाना पकाउने ग्यासको नियमित आपूर्ति भइरहेको र अब अभाव नहुने दाबी गरे पनि उपभोक्ता तथा व्यवसायीले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
ग्यासको प्रतीक्षामा लामो समय बिताउनुपर्दा सर्वसाधारणसँगै होटल तथा रेस्टुरेन्ट व्यवसायसमेत प्रभावित भएको छ।उपभोक्ता विष्णुबहादुर थापाका अनुसार उनले ग्यासका लागि नाम टिपाएको एक महिना बितिसक्दा पनि सिलिन्डर पाउन सकेका छैनन्। सीता ग्यासबाट समेत समयमै ग्यास उपलब्ध नभएको उनको गुनासो छ।ग्यास अभावले रेस्टुरेन्ट सञ्चालनमा पनि कठिनाइ थपिएको व्यवसायी केदार सिम्खडाले बताएका छन्। पर्याप्त ग्यास नहुँदा ग्राहकलाई उपलब्ध गराउने परिकारको सूचीसमेत घटाउनुपरेको उनले बताए।
नेपाल ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलालले पनि राजधानीमा ग्यास वितरण अपेक्षाअनुसार सहज हुन नसकेको स्वीकार गरेका छन्।उनका अनुसार अपाङ्गता भएका व्यक्ति, विद्यार्थी तथा ज्येष्ठ नागरिकको आवश्यकतालाई ध्यानमा राखेर प्राथमिकताका आधारमा ग्यास वितरण गर्ने गरिएको छ। आपूर्ति शृङ्खलामा थप अवरोध नआए दसैँपछि वितरण प्रणाली सहज हुने अपेक्षा गरिएको उनले बताए।सरकारको आपूर्ति नियमित रहेको दाबी र उपभोक्ताले भोगिरहेको समस्याबीच अझै अन्तर देखिएको छ। ग्यास वितरणलाई सहज बनाउन सम्बन्धित निकायले प्रभावकारी व्यवस्थापन गर्नुपर्ने उपभोक्ता तथा व्यवसायीको अपेक्षा छ।