काठमाडौँ । आज बिहान ११ बजेर ४७ मिनेटको शुभ साइतमा घटस्थापना गरी घरघरमा जमरा राखिएको छ।
दसैँघर तथा पूजा कोठामा घट स्थापना गरेर नवदुर्गाको पूजा आराधना सुरु भएसँगै बडादसैँको चहलपहल पनि बढेको छ। यस पर्वलाई शारदीय नवरात्रका रूपमा समेत मनाइन्छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरेर घटस्थापना गर्न तथा जमरा राख्न आग्रह गरेको थियो। घटस्थापनाको दिनबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा भएपछि समितिले आजकै दिन जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो।
नवरात्रको पहिलो दिन जौ छरेर जमरा राख्ने परम्परा छ। जौलाई देवी दुर्गाको प्रिय वस्तु मानिने भएकाले विजयादशमीका दिन देवीलाई अर्पण गरेपछि पहेँलो जमरा टीका र प्रसादसँगै ग्रहण गर्ने चलन छ। जमरालाई समृद्धि, शुभता र मंगलको प्रतीकका रूपमा लिइन्छ।धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार शास्त्रीय विधिअनुसार जमरा राख्दा जौबाहेक अन्य अन्न रोप्ने चलन छैन। नवरात्रभर शक्तिकी प्रतीक महाकाली, धनधान्य र ऐश्वर्यकी प्रतीक महालक्ष्मी तथा विद्या र बुद्धिकी प्रतीक महासरस्वतीको विशेष पूजा गरिन्छ।
दुर्गा पक्षमा देवीका नौ स्वरूपको आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत आसुरी शक्तिको प्रतीक मानिएका दानवको वध गर्न विभिन्न रूप धारण गरेकी थिइन्। यही मान्यताका आधारमा नवरात्रमा देवीको पूजा, उपासना र आराधना गर्ने परम्परा रहिआएको छ।