काठमाडौं । तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लगेर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिलोत्तमा–१७ दरखसवाका २७ वर्षीय युवराज थारु रहेका छन् ।प्रहरीले उनलाई आइतबार राति तिलोत्तमा–कान्छी बजार क्षेत्रको जंगलबाट नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार अपहरणमा परेकी बालिकाको सकुशल उद्धार गरेपछि घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको थियो ।प्रहरीका अनुसार थारुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाइएको थियो । गोली लागेर खुट्टामा चोट लागेका थारुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकालाई बुधबार राति घरमै सुतिरहेको अवस्थामा अपहरण गरिएको थियो । बालिका हराएको जानकारी पाएपछि प्रहरीले बिहीबार बिहानैदेखि घर आसपासका क्षेत्र तथा स्थानीय जंगलमा खोजी थालेको थियो ।खोजीका क्रममा प्रहरीले घटनामा संलग्न व्यक्तिबारे महत्वपूर्ण सुराक फेला पारेपछि अनुसन्धान र खोजी अभियानलाई थप तीव्र बनाएको थियो । त्यसक्रममा शुक्रबार साँझ करिब सात बजे कान्छी बजार नजिकैको जंगलबाट बालिकालाई सकुशल फेला पारिएको प्रहरीले जनाएको छ ।अपहरण भएको करिब ३८ घण्टापछि बालिकाको उद्धार भए पनि घटनामा संलग्न भनिएका थारु भने त्यसबेला फरार रहेका थिए । उनको निरन्तर खोजी गर्ने क्रममा आइतबार राति प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।घटनाको कारण तथा अपहरणको उद्देश्यबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।