काठमाडौं । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि गरिएको कारबाहीका क्रममा ९६० किलो चकलेटसहित ६ जना नेपाली पक्राउ परेका छन्।
भारतको नायकटोला गाउँनजिक शनिबार साँझ सशस्त्र सीमा बल (एसएसबी) को ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। एसएसबीका अनुसार नेपालबाट साइकलमा सामान बोकेर भारततर्फ प्रवेश गरेका उनीहरू पुनः नेपालतर्फ फर्किन खोजिरहेका थिए। शंकास्पद गतिविधि देखिएपछि एसएसबी टोलीले निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। तलासीका क्रममा ६ वटा साइकलमा राखिएको २४ बोरा चकलेट फेला परेको थियो। एसएसबीका अनुसार बरामद चकलेटको कुल तौल ९६० किलो रहेको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वा क्षेत्रका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्। एसएसबीले उनीहरूलाई भारतबाट चकलेट ल्याएर नेपालतर्फ लैजान खोजेको आरोप लगाएको छ। पक्राउ परेका ६ जना, बरामद चकलेट तथा साइकललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ। सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण गर्न नियमित निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाइएको एसएसबीको भनाइ छ।