काठमाडौं । कैलालीको भजनीमा भारतबाट मोटरसाइकलमार्फत सामान ल्याउँदै गरेका व्यक्तिलाई रोक्ने क्रममा प्रहरीमाथि कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–३ स्थित ठेकीपुरचोकमा बिहीबार ड्युटीमा रहेका प्रहरी कर्मचारीले भारतबाट सामान ल्याउँदै गरेको आशंकामा मोटरसाइकल रोक्न खोजेका थिए। सो क्रममा उनीहरूले प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँदलाई पक्राउ गरेको हो। उनीहरूलाई घटनाकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार कुटपिटपछि आरोपितहरू सामानसहित फरार भएका थिए। उनीहरूले बोकेको भनिएको अवैध सामान भने प्रहरीले तत्काल बरामद गर्न सकेन। प्रवक्ता तिमिल्सिनाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। कुटपिटका क्रममा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन्। दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको आशंकामा प्रहरीले दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। प्रहरीले से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। भारतबाट ल्याइएको भनिएको सामानको प्रकृति तथा त्यसमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।