काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
दुई नेताको वार्ताबाट कुनै साझा समझदारी नबनेको बताइएको छ। ‘यसपटक कुनै समझदारी भएन तर, उनीहरुको आआफ्ना टिमले भविष्यमा वैठकका लागि प्रयास गर्नेछन्,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले एक विज्ञप्तिमा भनेकी छन्।
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हानोइमा फेबु्रअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भयो ।’
दुई नेताबीचको छलफलमा आणविक निशस्त्रीत्रकरण र आर्थिक एजेन्डामा छलफल भएको बताइएको छ । तर, छलफल कुनै निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
गएको वर्ष जुनमा सिंगापुरमा पहिलो पटक वार्ता गरेका ट्रम्प र किमले यो वर्ष वार्ताका लागि भियतनामको राजधानी हानोइ रोजेका थिए। यो वार्ताका लागि उत्तर कोरियाली नेता ४ हजार किलोमिटरको ट्रेन यात्राबाट भियतनाम पुगेका थिए।
यद्यपी, उत्तर कोरियाली नेता किम जोङ अनले प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका थिए। किमको उक्त प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले यो निकै ठुलो कुरा हो भनेका छन्।
एजेन्सी