काठमाडौं ।रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका छन्।चन्द्रपुर नगरपालिका–८ वसन्तपुरमा बिहीबार राति सडकमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय सीताराम चौधरीलाई पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकलसहित चालक फरार भएकाले प्रहरीले घटनामा संलग्न सवारीसाधनको खोजी गरिरहेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार हालसम्म मोटरसाइकलको नम्बर र चालकको पहिचान खुलेको छैन।यसैबीच, दुर्घटना भएको क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा प्रभावकारी रूपमा सञ्चालनमा नरहेको स्थानीयले बताएका छन्। चन्द्रपुर नगरपालिकाले विभिन्न स्थानमा जडान गरेका क्यामेरा नियमित सञ्चालनमा नहुँदा दुर्घटना तथा अन्य घटनाको अनुसन्धानमा समस्या भइरहेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार क्यामेरा सञ्चालनमा भएको भए दुर्घटनापछि भागेको मोटरसाइकलको नम्बर वा चालकको हुलिया पहिचान गर्न प्रहरीलाई थप प्रमाण मिल्न सक्थ्यो। सीसीटीभी फुटेज उपलब्ध नहुँदा घटनाको अनुसन्धान थप कठिन बनेको उनीहरूको भनाइ छ।प्रहरीले भने दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचानका लागि अनुसन्धान तथा खोजी कार्य जारी रहेको जनाएको छ।