काठमाडौँ । प्रहरीको चेकिङ छल्दै भागेको एम्बुलेन्सबाट सिरहामा १०५ किलो गाँजा बरामद भएको छ। अनुसन्धानका क्रममा उक्त एम्बुलेन्स धनुषाको नगराइनमा रहेको ‘माँ सहयोगी संस्था’को नाममा सञ्चालन हुँदै आएको खुलेको प्रहरीले जनाएको छ। एम्बुलेन्सका चालक भने फरार छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको हो। गाँजा बरामद हुँदा सुरुमा एम्बुलेन्स र चालकबारे यकिन विवरण खुलेको थिएन। घटनाको अनुसन्धान अघि बढाउने क्रममा एम्बुलेन्स ‘माँ सहयोगी संस्था’को रहेको पहिचान भएको एसपी पाठकले बताए।
संस्थाले सिरहाको मिर्चैया नगरपालिका–बगहा घर भएका सितेन मण्डललाई चालकका रूपमा नियुक्त गरी एम्बुलेन्स सञ्चालन गर्न दिएको जनाएको छ। प्रहरीले संस्थालाई एम्बुलेन्स तथा चालकसँग सम्बन्धित सबै कागजात जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ। प्रहरीका अनुसार कागजात अध्ययन गरेपछि मात्रै घटनामा थप कानुनी प्रक्रिया कसरी अघि बढाउने भन्ने टुंगो लाग्नेछ। एम्बुलेन्स चालकसँग संस्थाले गरेको सम्झौता, चालकको जिम्मेवारी र एम्बुलेन्स सञ्चालनको आधारसमेत अनुसन्धानको विषय बनेको प्रहरीले जनाएको छ।
गाँजा बोकेको एम्बुलेन्स सिरहातर्फ आउँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीको निगरानीबारे थाहा पाएपछि चालकले चोहर्वादेखि सिरहासम्म विभिन्न तीन स्थानमा राखिएका प्रहरीका ब्यारिकेड तोड्दै एम्बुलेन्स भगाएको प्रहरीको भनाइ छ। प्रहरीले पछ्याउँदै गएपछि चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर फरार भएको जनाएको छ।
त्यसपछि एम्बुलेन्सको तलासी लिँदा पाँचवटा बोरामा लुकाएर राखिएको अवस्थामा १०५ किलो गाँजा फेला परेको एसपी पाठकले जानकारी दिए। बरामद गाँजासहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, एम्बुलेन्स सञ्चालनका लागि संस्था र चालकबीच भएको सम्झौता तथा अन्य कागजात अध्ययन गरी घटनामा कसको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।