काठमाडौं ।बेलायतमा एक पुरुषले आफ्नी श्रीमतीलाई जानकारी नै नदिई दुई दशकभन्दा लामो समयसम्म लागुऔषध खुवाएर यौन हिंसा गरेको घटनामा दर्जनौँ अपराध स्वीकार गरेका छन्।
उत्तरी इंग्ल्यान्डको म्यानचेस्टरस्थित अदालतमा सोमबार ती पुरुषले बलात्कार, बलात्कारको प्रयास, यौन दुर्व्यवहार र व्यक्तिको इच्छाविपरीत पदार्थ सेवन गराउनेलगायतका कुल ६० अपराधमा दोषी रहेको स्वीकार गरेका हुन्। उनी ६० वर्ष उमेर समूहका रहेको बताइएको छ। कानुनी कारण तथा पीडित महिलाको गोपनीयता संरक्षणका लागि दुवैको पहिचान सार्वजनिक गरिएको छैन।
मुद्दा सुरु हुँदा उनले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका थिए। तर यसै गर्मीयाममा उनले पाँचवटा बलात्कार, तीनवटा यौन दुर्व्यवहार र श्रीमतीको अनुमति बिना उनका निजी तथा अन्तरंग तस्बिर सार्वजनिक गरेको एक आरोपमा दोष स्वीकार गरेका थिए। सोमबारको सुनुवाइसँगै उनले स्वीकार गरेका अपराधको संख्या ६० पुगेको हो।
अदालतमा दोष स्वीकार गर्ने क्रममा उनकी श्रीमती पनि उपस्थित थिइन्। अनुसन्धानका क्रममा ती महिलामाथि यौन अपराध गरेको आरोपमा बेलायतका विभिन्न स्थानका थप १२ पुरुष पनि पक्राउ तथा अभियोगमा परेका छन्। उनीहरूको उमेर २८ देखि ७४ वर्षसम्म रहेको बताइएको छ। ती सबैले भने आफूविरुद्धका आरोप अस्वीकार गरेका छन्।
उनीहरूमाथिको मुद्दा पनि म्यानचेस्टरमै अघि बढ्नेछ। अभियोजन पक्षले यसै साताबाट उनीहरूविरुद्धको मुद्दामा प्रारम्भिक बहस सुरु गर्ने तयारी गरेको छ।ग्रेटर म्यानचेस्टर प्रहरीले घटनालाई अत्यन्त गम्भीर प्रकृतिको भन्दै पीडित महिलालाई अनुसन्धानका क्रममा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिरहेको जनाएको छ। सहायक प्रमुख प्रहरी अधिकृत रिक ज्याक्सनका अनुसार पीडित महिलाले विशेषज्ञ सेवामार्फत निरन्तर सहयोग पाइरहेकी छन्।