काठमाडौं ।झापाको मेचीनगर नगरपालिका–९ स्थित दास किराना पसललाई म्याद नाघेको पशुदाना बिक्री गरेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार पसलबाट समय गुज्रिसकेको पशुदाना बिक्री भइरहेको भेटिएपछि कारबाही गरिएको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अनुगमनबाट पुष्टि भएको आधारमा पसललाई जरिवाना गरिएको जानकारी दिएका छन्।खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती नेतृत्वको टोलीले पसलको अनुगमन गरेको थियो। अनुगमन प्रतिवेदनमा म्याद नाघेको पशुदाना बिक्री–वितरण गरेको उल्लेख भएपछि खाद्य सुरक्षा ऐनको दफा ३९ ९ज० अनुसार जरिवाना गरिएको प्रशासनले जनाएको छ।
अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ मा रहेको प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडले उत्पादन गरेको ‘शक्ति ब्रान्ड’का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याचका चौध बोरा अर्थात् चार सय नब्बे किलोग्राम पशुदाना बरामद गरिएको थियो। ती पशुदाना भदौ बाइस गते पसलबाट नियन्त्रणमा लिइएको हो।बरामद सामग्रीको बोरामा उत्पादन मिति विसं दुई हजार त्रियासी जेठ छ गते र प्रयोग गर्न मिल्ने अवधि ६० दिन उल्लेख गरिएको थियो। पसलले भदौ चौध गते स्थानीय जयप्रसाद आचार्यलाई त्यसमध्ये एक बोरा बिक्री गरेको समेत अनुगमनबाट खुलेको छ। उक्त दाना खाएपछि आचार्यले पालेको गाई बिरामी परेको र उपचारमा चार हजार रुपैयाँ खर्च भएको उनले बताएका छन्।
यसैबीच बजार मूल्यभन्दा निकै महँगोमा काँडेतार बिक्री गरेको गुनासोपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारेस्थित शिवम् ट्रेड एण्ड सप्लायर्समा पनि संयुक्त अनुगमन गरिएको छ।आन्तरिक राजस्व कार्यालय झापा र जिल्ला प्रशासन कार्यालयको टोलीले सोमबार पसलमा अनुगमन गरेको हो। आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डिल्लीराम चौलागाईंको नेतृत्वमा भएको अनुगमनमा प्रशासनका प्रतिनिधि यदुनन्दनसमेत सहभागी थिए।
अनुगमनपछि पसलका सञ्चालक नारायण कडरियालाई आर्थिक वर्ष दुई हजार बयासीरत्रियासीका बिल–बिजक, खाता तथा अन्य आवश्यक कागजातसहित तीन दिनभित्र आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन निर्देशन दिइएको प्रशासनले जनाएको छ।उपभोक्ताको उजुरीअनुसार बजारमा प्रतिकेजी एक सय पच्चीस रुपैयाँमा पाइने काँडेतार उक्त पसलले प्रतिकेजी तीन सय साठी रुपैयाँसम्ममा बिक्री गरेको बिल तथा भुक्तानी प्रमाण भेटिएपछि अनुगमन गरिएको हो।