काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध विभिन्न ठाउँमा गरी १० वटा बैंकिङ कसुरका मुद्दा रहेको खुलेको छ।
प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा सोमबार पक्राउ परेका तामाङविरुद्ध काठमाडौंसहित भक्तपुरका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरका मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले तामाङविरुद्धको अनुसन्धान पूरा गरेर ३ करोड ४ लाख रुपैयाँ र १ करोड ३ लाख ३० हजार रुपैयाँ बराबरका दुईवटा बैंकिङ कसुरका मुद्दाको मिसिल सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ।
त्यस्तै, ४८ लाख र ९५ लाख रुपैयाँका थप दुईवटा बैंकिङ कसुरका मुद्दाको मिसिलसमेत पेश भइसकेको प्रहरीले जनाएको छ। काठमाडौं परिसरबाटै २ करोड ५६ लाख रुपैयाँ बराबरको ठगी कसुरसम्बन्धी मुद्दा पनि सरकारी वकिलको कार्यालयमा पठाइएको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताएका छन्। प्रहरीका अनुसार तामाङविरुद्ध भक्तपुरमा २ लाख रुपैयाँ, जनसेवा प्रहरी वृत्तमा ७५ लाख रुपैयाँ, दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँ, लैनचौरमा १९ लाख ८० हजार रुपैयाँ र महाराजगञ्जमा समेत बैंकिङ कसुरका मुद्दा दर्ता छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्न तामाङ सोमबार सिंहदरबार पुगेका थिए। प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा उनलाई सिंहदरबार गेटबाट प्रहरीले पक्राउ गरेको थियो।