काठमाडौं । झापामा आफूलाई प्रधानमन्त्रीको कार्यालयको सचिवालय सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय सदस्य भन्दै सरकारी तथा शैक्षिक संस्थामा दबाब र धम्की दिने आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका–१ का सुजन विश्वकर्मालाई सोमबार पक्राउ गरिएको हो। झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले विश्वकर्मालाई पक्राउ गरिएको पुष्टि गरेकी छन्।प्रहरी अनुसन्धानबाट विश्वकर्माले आफ्नो वास्तविक परिचय लुकाएर विभिन्न सरकारी कार्यालय र शैक्षिक संस्थामा हुने बैठक तथा कार्यक्रममा सहभागी हुने गरेको खुलेको छ। त्यहाँ उनले आफ्नो पहुँच र राजनीतिक हैसियत रहेको दाबी गर्दै कर्मचारी तथा अन्य व्यक्तिमाथि दबाब दिने गरेको आरोप छ।
प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यसका लागि अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिएकी छन्।