काठमाडाैँ । सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट सिम्ली बजारतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
आइतबार बिहान करिब साढे ७ बजे सानीभेरी–६ र ३ को सीमाक्षेत्रमा पर्ने डाँगडुङ्गी मोडमा जीप दुर्घटनामा परेको हो। सानीभेरी गाउँपालिका–६ का वडाध्यक्ष पहलसिंह घर्तिमगरका अनुसार दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जीपमा १३ जना सवार थिए भने चार जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र इलाका प्रहरी कार्यालय सिम्लीबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हेमन्त गिरीले प्रहरी घटनास्थलमा पुगेपछि दुर्घटनाबारे थप विवरण आउने बताए।