काठमाडौं ।नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक डीआईजी लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ।
प्रहरी समन्वय समिति पीसीसी को बैठकमा सहभागी गराउन प्रदेश प्रहरी प्रमुखहरूलाई काठमाडौं बोलाइएको हो।प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेसम्म प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको जनाइएको छ।
प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजे पीसीसी बैठक बस्ने तय भएको छ। बैठकमा देशभरको शान्ति सुरक्षा अवस्था, प्रहरी संगठनको आन्तरिक व्यवस्थापन तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।प्रहरी संगठनका महत्त्वपूर्ण विषयमा समन्वय र निर्णय प्रक्रियाका लागि महत्त्वपूर्ण मानिने उक्त बैठकलाई सुरक्षा व्यवस्थापन तथा संगठन सञ्चालनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।