काठमाडौं ।पोखरामा अवैध रूपमा पटका बिक्री भइरहेको सूचनापछि प्रहरीले एक १७ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले उनको कोठाबाट विभिन्न प्रकारका पटका बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत कात्तिक ७ गते दिउँसो करिब १२ः४० बजे पोखरा महानगरपालिका–१०, अमरसिंहस्थित खेल मैदानमा पटका बिक्री भइरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–९ नयाँबजारमा बस्ने बालकलाई पटका बिक्री गरिरहेको अवस्थामा फेला पारेको हो।
प्रहरीले बालकलाई नियन्त्रणमा लिएर थप जाँच गर्दा उनको कोठाबाट विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ। बरामद सामग्रीमा ६५ प्याकेट खुर्सानी पटका, १८ प्याकेट मिनी बुलेट, सात प्याकेट चर्की, पाँच प्याकेट आलु बम, पाँच प्याकेट अनार, तीन प्याकेट सानो रकेट, एक प्याकेट टु इन वान र पाँच प्याकेट ७ सटर पटका रहेका छन्।प्रहरीले बरामद गरिएका पटका र घटनामा संलग्न बालकका सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।