काठमाडौं । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगोमा बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौं र भक्तपुरबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको नरेफाँटबाट १ सय ८३ थान र सामाखुसीबाट १ सय ८९ थान गरी ३ सय ७२ सिलिन्डर नियन्त्रणमा लिइएको हो।ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले नरेफाँटस्थित रामेछाप ब्रान्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठ र बसुन्धरास्थित हाम्रो सगरमाथा सहकारीमार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार घिमिरेले एउटा सिलिन्डर दुई हजार ६ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ। यस्तै, नरेफाँटको डिलरले ग्यासको मौज्दात लुकाएर बजारमा अभाव देखाउने र साँखु तथा चक्रपथ क्षेत्रमा बढी मूल्यमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यसअघि बिहीबार भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेबाट २८ थान ग्यास सिलिन्डर बरामद गरिएको थियो। कालोबजारीको आरोपमा सूर्यविनायकका उमेश साह र इटाछेका राजेश कर्माचार्य पनि पक्राउ परेका छन्।प्रहरीका अनुसार साहले उपभोक्तालाई प्रतिसिलिन्डर दुई हजार आठ सय रुपैयाँमा ग्यास बिक्री गर्दै आएका थिए। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ।