काठमाडौं । पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका ठूलो परिमाणका मोबाइल सामग्रीसहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सरावल गाउँपालिका–५ स्थित भन्सार टोलबाट बिहीबार बिहान करिब पौने पाँच बजे अवैध रूपमा नेपालतर्फ ल्याइएका सामग्री बरामद गरिएको हो।महेशपुर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरीको बीओपी भुजहवाबाट परिचालित संयुक्त टोलीले लु ३ च २९३९ नम्बरको पिकअप गाडीमा लोड गरिएका मोबाइल सामग्री नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।बरामद सामग्रीमा सेतो रङका एयरपड्स एक हजार सात सय ५५ थान, कालो रङका एयरपड्स पाँच सय ३२ थान, कालो टेम्पर्ड ग्लास ३२ हजार आठ सय थान, सेतो टेम्पर्ड ग्लास चार हजार पाँच सय थान र मोबाइल कभर एक सय ३० थान रहेका छन्।प्रहरीका अनुसार बरामद सामग्री र पिकअप गाडीको गरी कुल अनुमानित मूल्य एक करोड ३४ लाख ६८ हजार रुपैयाँ रहेको छ।बरामद सामान र गाडीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।