काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रका विभिन्न होटलबाट पक्राउ परेका १० जना बंगलादेशी नागरिकमाथि अध्यागमन विभागले अनुसन्धान सुरु गरेको छ।
शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले सोमबार ठमेलका विभिन्न होटलमा खोजी गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको छ।अध्यागमन विभागका अनुसार पक्राउ परेकामध्ये एक जनाको भिसा अवधि सकिएर पनि नेपालमा बसेको अर्थात् ओभरस्टे गरेको खुलेको छ। बाँकी व्यक्तिहरूको नेपाल आगमनको उद्देश्य, गतिविधि तथा कागजातबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ।प्रहरीका अनुसार उनीहरू ठमेलका विभिन्न होटलमा बस्दै आएका थिए। अनुसन्धानका क्रममा भिसाको प्रयोजनविपरीत गतिविधि गरेको र झैँ–झगडामा संलग्न भएको सम्बन्धमा समेत जानकारी आएको बताइएको छ।यसअघि पनि बंगलादेशबाट युवाहरूलाई विकसित मुलुकमा पठाइदिने भन्दै रकम असुल गरेको आरोपमा केही बंगलादेशी नागरिकमाथि नेपाल प्रहरीले अनुसन्धान गरेको थियो।हाल पक्राउ परेका १० जनाको गतिविधि र नेपाल बसाइको वास्तविक उद्देश्यबारे अध्यागमन विभाग र प्रहरीले थप अनुसन्धान गरिरहेका छन्।