काठमाडौं । युवा नेता अरुण गिरीले भदौ २३ को जेनजी आन्दोलनलाई ‘पापी कंश र भष्मासुरहरू’ विरुद्धको विद्रोहको रूपमा व्याख्या गरेका छन्।
उनले आन्दोलनपछि गणतन्त्र र लोकतन्त्रको नाममा स्थापित व्यवस्था आफैंले ‘आत्महत्या’ गरेको टिप्पणी गरेका छन्। भदौ २३ को घटनालाई स्मरण गर्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका गिरीले उक्त दिन भ्रष्टाचार, बेथिति र दमनविरुद्धको आवाज उठेको बताएका छन्। उनले राज्यबाट भएको दमनलाई पौराणिक पात्र कंशसँग तुलना गर्दै त्यस क्रममा ‘शिशु हत्या’ जस्तै व्यवहार भएको आरोप लगाएका छन्। त्यसको भोलिपल्ट भदौ २४ मा जनता ठूलो संख्यामा सडकमा उत्रिएको भए पनि आन्दोलनमा अवसरवादी र षड्यन्त्रकारीहरू प्रवेश गरेर त्यसलाई ‘हाइज्याक’ गरेको उनको दाबी छ। त्यसक्रममा देशभर आगजनी र तोडफोड भएको उनले उल्लेख गरेका छन्। गिरीका अनुसार आन्दोलनपछि नयाँ सरकार गठन भयो, निर्वाचन भयो र एउटा राजनीतिक शक्ति बलियो भएर उदायो। त्यसपछि पुनः सरकार परिवर्तन भए पनि भदौ २३ का घटनाका दोषीमाथि अझै प्रभावकारी कारबाही हुन नसकेको उनको टिप्पणी छ। यद्यपि, अहिले विगतको जस्तो ‘कंशहरूको शासन’ नरहेको विषयलाई उनले सकारात्मक रूपमा लिएका छन्।
तर जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको र राष्ट्रिय एकता कायम गर्न पनि चुनौती देखिएको उनको भनाइ छ। सरकारले जनताको चाहना र देशको आवश्यकतालाई बुझ्न नसकेको आरोप लगाउँदै गिरीले गणतन्त्रको नाममा पुरानै प्रवृत्तिलाई निरन्तरता दिइएको टिप्पणी गरेका छन्। उनले सरकारलाई जनतासँग आफ्ना कामबारे प्रश्न गर्ने र जवाफ माग्ने हिम्मत राख्न आग्रह गर्दै सत्ता प्राप्तिलाई मात्रै उपलब्धि ठानिए फेरि अर्को भदौ २३ दोहोरिन सक्ने चेतावनी दिएका छन्। इतिहासको सम्मान र राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै गिरीले भदौ २३ का शहीदहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूप्रति सम्मान व्यक्त गरेका छन्। आफ्नो अभिव्यक्तिको अन्त्यमा उनले ‘जय देश, जय नरेश !’ समेत उल्लेख गरेका छन्।